टीकापुर- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले सरकारसँग भिख नमाग्ने बताएका छन्। टीकापुरमा पार्टीको प्रथम महाधिवेशनको उद्घाटनमा बोल्दै संरक्षक चौधरीले नागरिक उन्मुक्ति पार्टीले राज्यसँग भिख नमाग्ने बताएका हुन्।
‘कुनै पनि काम गरिदेउ भनेर अब नागरिक उन्मुक्ति पार्टीले सरकारलाई ज्ञापन बुझाउँदैन। अबदेखि आफैं काम गर्छ। टीकापुरमा विमानस्थल ल्याउनुपर्नेछ। नागरिक उन्मुक्तिले त्यो गर्छ। आफैं ल्याउँछ,’ उनले भने।
उनले आफ्नो पार्टी समुदायमा आधारित समाजवाद र सांस्कृतिक भौगोलिक पहिचानसहितको संघीयताका निर्माणका लागि अगाडि बढ्ने बताए। उनले पार्टीमा नेता कार्यकर्ता सर्वोपरी रहेको बताउँदै कसैलाई पद चाहिए आफू छाड्न तयार रहेको प्रस्ट्याए। ‘कसैलाई पद चाहिन्छ भने रेशम चौधरी पद छाड्न तयार छ। नागरिक उन्मुक्ति पार्टीमा नेता र कार्यकर्ता सर्वोपरी हुनुपर्छ,’ उनले भने।
उनले देशमा संघीयता ल्याइए पनि कार्यान्वयन हुन नसकेको आरोप लगाए। उनले अहिले पनि टीकापुरमा थारू कर्मचारी हुन नसकेको बताए। ‘हाम्रोमा त संघीयता आयो रे। प्रदेश पनि बाँड्यो रे भन्छन्। तर टीकापुरमा एउटा कर्मचारी झापाको अर्को कर्मचारी स्याङ्जाका छन्। नगरपालिकाका हाकिम महेन्द्रनगरको छन्। अनि खोइ त थारू समुदायका कर्मचारी?,’ उनले प्रश्न गरे।
उनले सयौं थुंगा फूलका मालामा एकै प्रकृतिका माला उनिएको आरोप लगाए। सबै जातजातिका माला उनिएको भए राम्रो हुने उनको भनाइ छ। उनले एकैथरी नागरिकतामा थारू र बाहुनको फरक फरक परिचय रहेको समेत बताए।
‘हाम्रो नागरिकता एउटै छ। तर सरकारी कार्यालयमा परिचय फरक छ। थारु पिउन छन्, तर बाहुन हाकिम बनेका छन्। यो कस्तो व्यवस्था हो? अलि अलि मिलाउँ भनेको हो। तर, यहाँ सबै कुरामा विभेद् गरिएको छ,’ उनले भने।
उनले राज्यले जानाजान थारूलाई फेल गराउने शिक्षा नीतिको विकास गरेको आरोप लगाए। ‘थारूहरू पढेरमात्र फेल भएका होइनन्। संस्कृतजस्ता जटिल विषय राखिदिएर थारूहरू फेला भएका हुन्। यो राज्यले बुनेको जालो हो। राज्य चाँहदैन थारूहरू हाकिम बनून,’ उनले भने, ‘अहिले बाहुनहरूका छोराछोरी अंग्रेजी पढ्न थालेका छन्।
उनीहरू नेपालीमै कमजोर हुन थालेपछि अहिले नेपाली भाषाको इकार उकार हेरिँदैन। त र ट हेरिँदैन। यस्तो छ हाम्रो देशको शिक्षा नीति,’ उनले भने। उनले महाधिवेशनलाई सहमतिकै आधारमा टुंग्याउन आह्वान गरे। ‘म चाहन्छु सकेसम्म चुनाव नहोस्। सहमतिमै कार्यसमित चयन गरौं। पर्सीसम्म तपाइँहरूलाई सकुसल फिर्ता पठाउन पाइयोस्,’ उनले भने।
















