धनगढी- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रदेशसभा सदस्य खिमादेवी विष्टले सुदूरपश्चिम सरकार जनता र संसद्प्रति जबाफदेही हुन नसकेको आरोप लगाएकी छन् । आजदेखि सुरु भएको प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य विष्टले सो आरोप लगाएकी हुन् ।
सांसद विष्टले सरकारले न बाढी पीडितलाई न त भूकम्प पीडितलाई समयमा सहयोग गर्न सकेको भन्दै आलोचना गरिन् । त्यस्तै उनले सत्तारुढ दलका प्रदेशसभा सदस्यहरूले नियम विपरीत सवारी साधन चलाएको समेत बताइन् ।
उनीहरुले उल्टै चलाएको गाडीको मर्मतसम्भार खर्च प्रदेशसभा सचिवालयमार्फत भुक्तानी गराएको बताउँदै उनले सम्बन्धित प्रदेशसभा सदस्यलाई क्षतिपूर्ति भराउन लगाउनुपर्ने माग गरिन्।
यसैबिच विष्टले सरकार लाचार हुँदा आफूहरूको हैसियत वडा सदस्यभन्दा तल्लो स्तरको भएको भन्दै दुखेसो समेत पोखिन् । उनले मुख्यमन्त्री कमलबहादुर शाहले कुनै कुरामा अडान लिन नसकेको भन्दै आपत्ति जनाइन् ।
उनले भनिन्, ‘मुख्यमन्त्रीज्यू, तपाईंसँग मेरो प्रश्न छ तपाईं कुनै दलको मुख्यमन्त्री हो ? या कुनै व्यक्तिको रु कि ५३ जनाको या सुदूरपश्चिमको मुख्यमन्त्री हो ? तपाईंको बोलीमा मैले कुनै पनि दम देखेको छैन ।
मैले मात्रै होइन, तपाईंका पार्टीका कार्यकर्ताले पनि देखेका छैनन् । अहिले यहाँको विकास भइरहेको छैन, यसको जिम्मा तपाईँले लिनुपर्छ । यो कुरा गम्भीरतापूर्वक लिइदिनुहोला ।’
















