बाजुरा- बाजुराको त्रिवेणी नगरपालिका-४ देवस्थली बस्तीको घर घरमा खानेपानीको धारा निर्माण भएपछि यहाँका स्थानीय खुसी भएका छन् । पुस्तौँदेखि खोलाको पानी खानुपर्ने बाध्यता थियो । तर अहिले घरघरमा खानेपानीको धारा निर्माण भएपछि त्यो बाध्यता हटेको छ, ७० वर्षीया स्थानीय काल्चे साउँदले भने ।
उनले भने, “यहाँका स्थानीय महिलाहरूले पुस्तौँदेखि एक घण्टा टाढाबाट हिँडेर खोलाको पानी ल्याउँथे । अहिले एक घरमा एक धारा निर्माण भएपछि अहिले यहाँका महिला त्यो समस्याबाट मुक्त भएका छन् ।” पानी नहुँदा घर नजिकैको जमिन पनि बाँझो थियो । अहिले घरमा खानेपानीको धारा निर्माण भएपछि त्यो जमिनमा पनि तरकारी लगाउन सहज भएको साउँदले बताए ।
साउँद मात्र नभई यतिबेला त्रिवेणी–४ देवस्थली टोलका झण्डै ३२ घरपरिवार समेत घरघरमा खानेपानीको धारा निर्माण भएपछि हर्षित भएका छन् । त्रिवेणी नगरपालिकाले विगत एक वर्षदेखि एक घर एक धारा हाम्रो अभियान सुरक्षित खानेपानी मुक्त समुदाय हाम्रो अभियान कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
२०७९ सालको माघबाट सुरु भएको सो टोलको खानेपानी २०८० माघमा सम्पन्न भएको त्रिवेणी नगरपालिका वडा नं ४ का वडा अध्यक्ष गणेश साउँदले बताए । उनले भने, “यो बस्तीका स्थानीयको पुस्तौँदेखि को खानेपानीको समस्या भोग्दै आएकोले गत वर्षको बजेटमा रकम विनियोजन गरेपछि अहिले यो बस्तीका स्थानीयको एक घर एक धारा निर्माण भएको हो ।”
स्थानीय तह र युनिसेफको २१ लाख ९१ हजार रुपियाँमा त्रिवेणी ४ को ढकेना खानेपानी योजनाबाट यो देवस्थली बस्तीका झण्डै ३२ घरमा एक घर एक धारा निर्माण गरिएको अध्यक्ष साउँदले बताए ।















