धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार जनताले अनुभूति गर्ने गरी विकासका कामलाई अगाडि बढाइरहेको बताएका छन् । सोमबार सुदूरपश्चिम प्रदेश सरकारले ७४ औँ प्रजातन्त्र दिवसको अवसरमा धनगढीमा आयोजना गरेको प्रदेश स्तरीय मूल समारोह कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने ‘प्रदेश सरकार विभिन्न चुनौतिकाबीच जनताले अनुभूति हुने गरि विकासका कामलाई अगाडि बढाइ रहेको छ । साथै नागरिकलाई सरल, सहज र प्रभावकारी रुपमा सेवा प्रवाह गर्ने दिशामा सरकार प्रतिवद्ध छ ।’ ‘सुदूरपश्चिममा भौगोलिक कठिनाइ, गरिबी र बेरोजगारी, शिक्षा, स्वास्थ्य सेवा प्रवाहका समस्या छन् ।’ उनले भने ‘उद्यमशीलताको कमी, भौतिक पूर्वाधारको कमी, सीमित स्रोतसाधन लगायतका समस्या र चुनौतिले गर्दा प्रदेश सरकारले चाहेर पनि जनअपेक्षा अनुसार काम गर्न सकेको छैन् ।’

उनले भने ‘जतिसुकै कठिनाई र चुनौतिहरू भएपनि प्रदेश सरकार नागरिकको समृद्धिको सपना साकार पार्न निरन्तर कटिवद्ध तथा प्रयासरत छ ।’ सरकार उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरी नागरिकको जीवनस्तर उकास्न सदैव प्रयत्नशील रहेको समेत उनले बताए । प्रदेश सरकार र सरकारका विभिन्न निकायहरु कानूनी तथा प्रशासनिक पूर्वाधारको उपयोग गर्दै आर्थिक तथा सामाजिक समृद्धिको माध्यमबाट समाजवाद उन्मुख राज्य व्यवस्था स्थापना गर्ने मुख्य लक्ष्य राखेर अगाडि बढेको उनले दाबी गरे ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी,प्रदेशका सभामुख भीमबहादुर भण्डारी,प्रदेशका मन्त्रीहरु,उपसभामुख,प्रदेशसभा सदस्यहरुलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सुदूरपश्चिमको कला संस्कृति झल्किने डेउडा,रानाथारु होली प्रस्तुत गरिएको थियो ।















