कैलाली । ट्रक पछाडी वेहोस अवस्थामा फेला परेको मानिसको मृत्यु भएको छ । कञ्चनपुर बेतकोट ९ सुन्दरपुर बस्ने बर्ष ३८ को चालक लबिन्द्र रानाले यही ९ गते बिरगञ्जबाट सरिया र खाली प्लाष्टिकको बोरा लोड गरी ल्याएको सुपप्र०१—००१ ख २४४२ नं को ट्रक पछाडी नाम नखुलेको वेहोस अवस्थामा रहेको मानिसको मृत्यु भएको हो ।
कैलाली धनगढी उप महानगरपालिका वडा नं १ सेतोपुल स्थित रुपम एन्जल ट्रेडर्स एण्ड सप्लायर्समा १३ गते दिउसो सामान अनलोड गर्ने क्रममा सोही ट्रक पछाडी नामथर खुल्न नआएको अन्दाजी ४५ को पुरुष व्यक्ति बेहोस अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
वेहोस भएको खवर जिल्ला प्रहरी कार्यालयमा जानकारी प्राप्त भएको र प्रहरी टोली खटिगई निजलाई सोही ट्रक द्वारा उपचारको लागी सेती प्रादेशिक अस्पताल धनगढी कैलाली पठाईएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक गंगा दत्त बडु ले जानकारी दिए ।
मृतकको लाश सोही अस्पतालको लाश घरमा राखिएको, निज मृतक सोही ट्रक भित्र कहाँ बाट बसेको भन्ने खुल्न नआएकोले थप अनुसन्धानको लागी उक्त ट्रक, चालक र सहचालक जिल्ला कञ्चनपुर बेतकोट ९ बस्ने बर्ष २२ को ओम प्रकाश राना लाई यस कार्यालयमा राखि थप अनुसन्धान कार्य भईरहेको उनले वताए ।
लाशको हालसम्म सनाखत हुन नसकेको हुँदा पहिचान भएमा सम्बन्धित व्यक्तीले यस कार्यालय तथा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिएको छ ।













