धनगढी । प्रेस सेन्टर नेपाल कैलालीले प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई ज्ञापनपत्र बुझाएको छ ।
आइतबार सञ्चार क्षेत्रका विभिन्न माग राख्दै प्रेस सेन्टर कैलालीका अध्यक्ष सुरेन्द्र ताम्राकारसहितको टोलीले प्रजिअ मार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र बुझाएको हो ।
स्थानीय विज्ञापनमा स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन र केन्द्रबाट वितरण हुने सरकारी विज्ञापन स्थानीय तहका सञ्चारमाध्यमले समेत पाउनेगरी समानुपातिक वितरण प्रणाली लागू गर्नुपर्ने, अनलाइनलाई पनि लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन पर्ने,पत्रकार र मिडिया हाउसको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण हुनुपर्ने माग ज्ञापन पत्रमा राखिएको छ ।
पत्रकार दुर्घटना बिमालाई थप विस्तार गरी स्वास्थ्य बिमा र जीवन बिमाको व्यवस्था गर्नुपर्ने,पत्रकारलाई सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुबाट उपलब्ध गराइने भनेको ५० प्रतिशत छुटलगायतका पूर्व निर्णयहरु कार्यान्वयन गर्नपर्ने,सञ्चारकर्मीहरूले खरिद गर्ने सञ्चार सामग्री अनुदान र सञ्चारगृहका लागि सवारी साधन खरिद प्रक्रियामा भन्सार कर छुटको व्यवस्था गर्नुपर्ने लगायतका माग राखिएको छ ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय उपमहासचिव हरिश विक,निवर्तमान केन्द्रीय सदस्य टंक कुँवर,प्रदेश सचिव पदम सुनार,जिल्ला सचिव राम दहित,जिल्ला सदस्य दीपक बमलगायतको उपस्थिति रहेको थियो ।















