धनगढी । नेकपा माओवादी केन्द्र उपमहासचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले अहिलेको सरकारले सुशासनमाथि आक्रमण गरिरहेको बताएका छन् ।
मंगलबार योङ कम्युनिष्ट लिग (वाईसीएल)नेपालको धनगढीमा आयोजित प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने ‘अहिलेको सरकार नै भ्रष्टाचारीलाई संरक्षण गर्ने काम गरिरहेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार विरोधको अभियान चलाएको थियो । आज सबै फाइल बन्द गरेर यो सरकार भ्रष्टहरुलाई बचाउन बनेको हो भनेर व्यवहारले प्रष्ट भएको छ ।’
उनले भने ‘माओवादी नेतृत्वको सरकारले सुशासन,सामाजिक न्याय र समृद्धिका पक्षमा काम गर्दै गर्दा अप्राकृतिक ढंगले सरकार ढालियो । संविधान संशोधनको नारा दिएर अहिलेको केपी शर्मा ओली नेतृत्वको सरकार बन्यो । अहिलेको सरकार भ्रष्टाचारी जोगाउन लागेको छ ।’
उनले अहिलेको सरकारको कुशासन विरुद्ध ध्यान दिन आवश्यक भएको बताए । देशमा रोजगारीका अवसर नहुँदा युवाहरु विदेशिनु पर्ने अवस्था आएको बताउँदै युवालाई देशमै रोजगारी सिर्जना गर्न आवश्यक भएको बताए । पछिल्लो समय पश्चगामीहरु सलबलाइरहेको बताउँदै उनले त्यसका विरुद्ध युवा शक्ति जोडदारसँग लाग्नुपर्ने बताए ।















