धनगढी । धनगढी उपमहानगरपालिकाले सुदूरपश्चिम प्रदेश सरकारलाई स्थानीय सेवाको गठन, सञ्चालन तथा सेवा शर्तसम्बन्धी ऐन चाँडो जारी गर्न आग्रह गरेको छ।
नगरप्रमुख गोपाल हमालले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई ध्यानाकर्षण पत्र पठाउँदै ऐन चाँडो जारी गर्न आग्रह गरेका हुन् । स्थानीय सेवाको गठन, सञ्चालन तथा सेवा शर्तसम्बन्धी ऐन प्रदेश सभामा विचाराधिन अवस्थामा रहेको र तत्काल जारी गर्न स्थानीय तहका कर्मचारीले दवावमुलक कार्यक्रम गरिरहेका छन् ।
स्थानीय तह कर्मचारी प्रदेश संघर्ष समितिको आयोजनामा यही वैशाख २६ गतेदेखि सुरु भएको दबाबमूलक कार्यक्रममा धनगढी उपमहानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरु सहभागी भएकाले, सेवाप्रवाह प्रभावित भएको र कार्यालय सञ्चालनमा समेत असहजता उत्पन्न भएको ध्यानाकर्षण पत्रमा भनिएको छ ।
प्रदेश सभामा विचाराधिन अवस्थामा रहेको स्थानीय सेवाको गठन, सञ्चालन तथा सेवा शर्तसम्बन्धी कानुन यथासक्य चाँडो जारी गर्न आवश्यक पहल गरी सहयोग गरिदिन नगरप्रमुख हमालले आग्रह गरेका छन् ।
सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन,सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गत जेठ १३ गते प्रदेश सभामा प्रस्तुत भएको थियो।















