धनगढी । यौनिक तथा लैङ्गिक अल्पङ्ख्यक समुदायको सवालमा अभिमुखीकरण कार्यक्रम भएको छ । बिहीबार एकता नेपालको आयोजनामा धनगढीमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सवाल सञ्चारकर्मीसँग अभिमुखीकरण कार्यक्रम भएको हो ।
कार्यक्रममा एकता नेपालका कार्यकारी निर्देशक राज चौधरीले लैड्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अवस्था,भोग्नु परेका समस्यालगायतका बिषयमा प्रस्तुतिकरण गरेका थिए ।
उनले सो समुदायका व्यक्तिले संविधानप्रदत्त अधिकार उपभोग गर्न पनि थुप्रै समस्याको सामना गर्नु परिरहेको बताए । उनले संविधानमा अधिकार प्रत्याभूत भएतापनि कार्यान्वयनमा कठीनाइ भएको,प्रदेश सरकार र सबै स्थानीय तहरुमा यस समुदायलाई लक्षित गरि कार्यक्रम विनियोजिन हुन नसक्नु,समाज तथा परिवारबाट लाल्छना तथा भेदभाव हुनु लागायतका समस्या भएको बताए ।
शौचालय प्रयोगमा पनि विभिन्न भोग्नु परेको बताउँदै शौंचालयहरूमा महिला, पुरुष शौचालय नभइ लैङ्गिकमैत्री शौंचालय लेख्नु पर्ने उनले बताए । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सवालहरु मिडियामार्फत सम्प्रेषण गरिदिन उनले आग्रह गरे ।
एकता नेपालकी अध्यक्ष कृत्तिका चौधरीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई स्थानीय र प्रदेश सरकारले लक्षित वर्गको कार्यक्रममा समेट्न आवश्यक रहेको बताइन् ।















