धनगढी । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलन जेठ १८ गते (भोलि)देखि सुरु हुने भएको छ ।
जेठ २० गतेसम्म सञ्चालन हुने सम्मेलन भोलिदेखि काठमाण्डौँमा हुने भएको हो । सम्मलेनको सम्पूर्ण तयारी पूरा भएको र देशभरीबाट प्रतिनिधिहरु पुग्ने क्रम जारी रहेको वाइसीएल नेपालले जनाएको छ ।
सम्मेलनमा देशभरीबाट करिब दुई हजार प्रतिनिधि सहभागी हुने जनाइएको छ । सम्मेलनबाट नयाँ नेतृत्व चयन हुने छ । अध्यक्ष पदमा पाँच जनाबीच प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । अध्यक्ष पदका लागि पाँच जनाको दाबेदारी रहेको जनाइएको छ ।
अध्यक्षका लागि हालका उपाध्यक्ष केयरसिंह कुँवर,उपमहासचिव पुष्प ओली,सचिव कर्मा पुलामीमगर,उपमहासचिव गणेश शाही र सचिव नवराज ऐरको दाबी रहेको वाइसीएलका एक नेताले बताए ।
केन्द्रीय उपाध्यक्षमा अर्जुन साउदको दाबी रहेको तथा केन्द्रीय उपमहासचिवमा हालका सचिव डवल खाती ‘सुरज’ र शिव वोगटीको दाबी रहेको जनाइएको छ । सचिव खुलामा हालका सुदूरपश्चिम संयोजक नरबहादुर बिष्ट र सुदूरपश्चिम प्रादेशिक केन्द्रीय सचिवमा भुवन कुँवरको दाबी रहेको जनाइएको छ । सुदूरपश्चिमबाट एक सय ६५ जना प्रतिनिधि सहभागी हुने जनाइएको छ ।















