धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीच भेटवार्ता भएको छ । उन्मुक्ति पार्टीले समर्थन फिर्ता गरेको एक दिनपछि आज (शनिबार) काठमाण्डौँ बुढानीलकण्ठस्थित निवास पुगेर मुख्यमन्त्री शाहले सभापति देउवासँग भेट गरेका हुन् ।
मुख्यमन्त्री शाहका प्रेस संयोजक डम्मर बमले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको प्रतिक्रिया दिएका छन् । बिहीबार मुख्यमन्त्री शाहले नाउपाको तर्फबाट उद्योग पर्यटन वन तथा वातावरण मन्त्री भएका रामेश्वर चौधरीलाई बर्खास्त गरेका थिए । त्यसलगत्तै नाउपाले सङ्घ र प्रदेशमा आफ्नो समर्थन फिर्ता लिने घोषणा गरेको थियो ।
सुदूरपश्चिम प्रदेशमा शुक्रवार समर्थन फिर्ता लिएको नाउपाले सङ्घमा फिर्ता लिन भोलि बिहान १० बजे संसदीय दलको बैठक आह्वान गरेको छ । सभापति देउवालाई मुख्यमन्त्री शाहले मन्त्रीलाई पदमुक्त गर्नुको कारणसहित पछिल्लो घटनाक्रमबारे जानकारी गराएका थिए ।
सभापति देउवाले मुख्यमन्त्री शाहलाई देखिएका समस्याहरू वार्ता र संवादमार्फत हल गर्न सुझाव दिएका थिए । नाउपासँग संवाद गरेर रिक्त रहेको मन्त्रालयमा नाउपाबाटै मन्त्री बनाउने गरि अघि बढ्न मुख्यमन्त्री शाहलाई सभापति देउवाले सुझाव दिएको जनाइएको छ ।
सुदूरपश्चिम प्रदेशमा नाउपाका ७ सांसद छन् । नाउपाले समर्थन फिर्ता लिँदैमा मुख्यमन्त्रीको सरकार ढल्ने अवस्था छैन । तर, नाउपालाई साथमै लिएर अघि बढ्न सभापति देउवाले मुख्यमन्त्रीलाई सुझाव दिएको जनाएको छ ।















