कैलाली । धनगढी उपमहानगरपालिका–८ क्याम्पस रोडस्थित एरिष्टो माध्यमिक विद्यालयले कक्षा ८ र एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएको उपलक्ष्यमा ११ जना शिक्षक–शिक्षिकालाई सम्मान गरेको छ। एक विशेष कार्यक्रममा उनीहरूलाई खादा र नगदसहित सम्मान गरेको हो।
विद्यालयका प्रधानाध्यापक हरी क्षेत्री, प्रबन्ध निर्देशक शान्ती अधिकारी क्षेत्री, र विभिन्न विभागीय प्रमुखहरूको उपस्थितिमा आयोजित कार्यक्रममा विद्यालयले उत्कृष्ट शिक्षण योगदानका लागि धन्यवाद ज्ञापन गर्दै शिक्षकहरूको योगदानको कदर गरेको हो।
२०८१ सालको एसईई परीक्षामा सहभागी १२७ जना विद्यार्थीहरूमध्ये गौरव उपाध्याय र प्रदिप गिरीले ४ जिपिए प्राप्त गर्दै सुदूरपश्चिम प्रदेशमै एउटै विद्यालयबाट दुई विद्यार्थीले ४ जिपिए ल्याउने पहिलो उदाहरण बनाएका छन्। यी विद्यार्थीहरू अघिल्लो वर्ष धनगढी उपमहानगरपालिकाको बोर्ड परीक्षामा पनि प्रथम भएका थिए।
विद्यालयका प्रबन्ध निर्देशक शान्ती अधिकारी क्षेत्रीले विद्यार्थी र मिहनेती शिक्षकहरूको समर्पणले एरिष्टोले निरन्तर उत्कृष्ट नतिजा दिँदै आएको बताइन्। उनले विद्यालयले गुणस्तरमा कुनै सम्झौता नगरेको स्पष्ट पारिन्।
तीन दशकदेखि सुदूरपश्चिममा शैक्षिक उत्कृष्टता प्रदर्शन गर्दै आएको एरिष्टो माविले यस वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट कक्षा ११ मा व्यवस्थापन संकायको पठनपाठन सुरु गरेको जानकारी पनि कार्यक्रममा दिइएको थियो।















