धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी नदीमा आएको आकस्मिक बाढीका कारण टापुमा फसेका ६ जनाको सकुशल उद्धार गरिएको छ। नदीमा फसेका उनीहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त सहयोगमा सकुशल उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
बुधवार श्राद्ध गर्न गएका उनीहरू गोदावरी नदीको काठेपुल नजिक बिच भागमा फसेका थिए। नदीमा फसेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ बस्ने ६५ वर्षीय पल्लु सार्की,६५ वर्षीया भागेश्वरी सार्की,१२ योगेश सार्की,३५ वर्षीय बिकट सार्की,३५ वर्षीय बीर सार्की र बेदकोट नगरपालिका–७ बस्ने २८ वर्षीय अब्दुल सार्कीको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल,गोदावरी नगरपालिकाका नगरप्रमुख बीरेन्द्र भट्ट लगायतको टोली त्यहाँ पुगेको थियो ।















