कैलाली । गोदावरीमा आएको छिनभरको बर्षाले नगरपालिकाको पर्खाल भत्केको छ । बुधबार आएको वर्षाले गोदावरी नगरपालिकाको पर्खाल भत्केको हो। करिब १२ करोड लगानीमा भवन र पर्खाल निर्माण गरिएको थियो ।
बर्षाका कारण एक तर्फको भर्खर बनाएको ३ सय मिटर पर्खाल भत्केको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
यसैबिच गोदावरी नगरपालिका-४ स्थित गोदावरी नदीमा श्राद्ध गर्न गएका ६ जना मुसलधारे पानीको कारण नदीको वरिपरीबाट पानीको सतह बढ्न गई टापुमा फसेको र उनीहरुको सकुशल उद्दार गरिएको उनले बताए ।
त्यस्तै बर्षाका कारण गौरीगंगा नगरपालिका-२ पुरानो चौमाला नजिक रहेको खोलामा आएको बाढीका कारण नाम,थर,ठेगाना नखुलेका अन्दाजी ५० बर्षिय पुरुष बेपत्ता भएको खबर आएको र उनको प्रहरीले खोजी कार्य गरीरहेको सूचना अधिकारी जोशीले बताए ।
उनले भने ‘अहिल्यै पुष्टि चाहीँ भएको त छैन । तर बेपत्ता भएको खबर आएको छ ।’
पछिल्लो १२ घण्टा यता कैलालीको गर्भादरवार क्षेत्रमा ६२.२ मिलिमिटर,लम्कीचुहा नगरपालिका आसपास क्षेत्रमा ७८.२ मिलिमिटर वर्षा मापन भएको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख संजयकुमार साहले निशाना न्युजलाई जानकारी दिए । सबैभन्दा बढी पानी अत्तरिया क्षेत्रमा परेको उनले बताए । सो क्षेत्रमा ९६ मिलिमिटर वर्षा मापन भएको उनले बताए ।















