धनगढी । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार प्रेमबहादुर आलेले जनताको शिर ननिहुरिने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
शनिबार नेपाल मगर संघले धनगढी उपमहानगरपालिका-१७ मा आयोजना गरेको माघी मिलन कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिवद्धता गरेका हुन ।
उनले विगतमा जनताका माझमा रहेर थुप्रै काम गरेको स्मरण गर्दै जनताको काम गरेकै कारण यो ठाउँसम्म पुगेको बताए ।
पूर्वमन्त्रीसमेत रहेका आलेले विकास निर्माणलगायतका काम गरेकै कारण डोटीबाट तीन पटक लगातार निर्वाचित भएको बताउँदै यस पटक कैलाली क्षेत्र नं ५ बाट आफ्नो जित सुनिश्चित रहेको दाबी गरे ।
उनले श्रोत साधनका हिसाबले डोटीमाभन्दा कैलालीमा विकास गर्न सहज भएको उल्लेख गर्दै यस क्षेत्र समग्र विकास नै आफ्नो प्राथमिकतामा रहेको बताए ।
पछिल्ला केही दिन यता चुनाव लक्षित घरदैलोमा समेत रहेका आलेले जनताको अपार माया पाइरहेको बताए ।
विभिन्न ठाउँमा आयोजित भेटघाट, टाेलसभा, घरदैलो भेटघाट र सामूहिक कार्यक्रममा स्थानीयहरूले खुलेर समर्थन जनाउँदै सक्रिय रूपमा चुनावी अभियानमा सहभागीता जनाउने गरेका छन् ।
आले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका छन् ।
















