धनगढी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा कैलाली क्षेत्र नम्बर ५ मा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ ।
यसैक्रममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार प्रेमबहादुर आलेले आफ्नो घरदैलो अभियानलाई तीव्र बनाएका छन ।
पूर्वमन्त्रीसमेत रहेका आले पछिल्ला केही दिनदेखि निर्वाचन क्षेत्रका गाउँ, टोल तथा बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन ।
घरदैलो अभियानमा उनले स्थानीय जनताका समस्या, आवश्यकता र अपेक्षाबारे प्रत्यक्ष जानकारी लिने गरेका उनको सचिवालयले जनाएको छ ।

नेता आलेले विगतमा आफूले सरकारमा रहँदा गरेका विकास निर्माणका काम र आगामी कार्यकालका स्पष्ट योजनाहरू सार्वजनिक गर्दै मतदाताको मन जित्ने प्रयास गरिरहेका छन ।
उनले आगामी कार्यकालका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालको स्तरोन्नति, गेटा मेडिकल कलेजमा एमबीबीएस तहको पठनपाठन सुरु गराउनेदेखि फाप्ला रंगशालाको निर्माण पाँच वर्षभित्र सम्पन्न गर्ने आफ्नो लक्ष्य रहेको बताउँदै आएका छ्न ।
त्यस्तै, धनगढीलाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा विकास गर्ने कार्यलाई पूर्णता दिने, धनगढी-खुटिया,बिपीनगर-दिपायल हुँदै बझाङको उरै भञ्ज्याङसम्म जोड्ने रणनीतिक सडक निर्माणलाई आफ्नो प्रमुख एजेन्डा बनाएको उनले स्पष्ट पारे ।
विकासका काम, लामो राजनीतिक अनुभव र स्पष्ट प्रतिबद्धतालाई आधार बनाएर नेता आलेले कैलाली–५ मा आफ्नो चुनावी अभियानलाई थप प्रभावकारी बनाइरहेका छन ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कैलाली–५ मा १५ जनाको उम्मेदवारी परेको छ ।
जस अन्तरगत नेकपाबाट प्रेमबहादुर आले, नेपाली कांग्रेसबाट नरनारायण शाह (मनु), नेकपा (एमाले) बाट यज्ञराज ढुंगाना तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आनन्दबहादुर चन्द उम्मेदवार रहेका छन ।
यस निर्वाचन क्षेत्रको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ ।
















