डोटी । डोटीमा भरुवा बन्दुकको छर्रा लागेर एक युवकको मृत्यु भएको छ ।
बुधबार साझ जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–१ पोखरीमा स्थानीय ३० वर्षीय कलम धामीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार स्थानीय दुर्गा सिंह कुडमालको तीन तले घरको माथिल्लो तलामा बिजुली वायरिङ गर्ने क्रममा सोही कोठामा राखिएको भरुवा बन्दुक अचानक पड्किँदा धामीको बायाँ कन्चटमा छर्रा लागेर घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
घटनाबारे जानकारी पाए लगत्तै प्रहरी सहायक निरीक्षक रामबहादुर कार्कीको कमाण्डमा ४ जनाको टोली घटनास्थलमा खटिएको थियो ।
त्यसैगरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक नवराज रावलको नेतृत्वमा ६ जनाको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।













