धनगढी । कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयको परिसरभित्र एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत करिब ३० वर्षीय प्रहरी जवान सन्देशबहादुर चनारा गएराति मृत फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार प्रहरी जवान चनारा कार्यालयको छतबाट खसेको प्रारम्भीक जानकारी प्राप्त भएको छ।
प्रहरीका अनुसार राति करिब ११ बजे ड्युटीमा रहेका अर्को सुरक्षाकर्मीले उनलाई लडेको अवस्थामा देखेपछि तत्काल उपचारका लागि अस्पताल लगिएको र अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषित गरेको जनाइएको छ। घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरी नायब उपरीक्षक तिमिल्सिनाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ। समितिले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।
बझाङका स्थायी बासिन्दा रहेका चनारा करिब ६ महिनादेखि इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत थिए। उता, मृतकका आफन्तले भने उनको मृत्यु शंकास्पद रहेको बताएका छन्।













