धनगढी । कैलालीमा गुल्मभित्र पसेर डीएसपीसहितका सशस्त्र प्रहरीमाथि हातपात गरिएको छ ।
बुधबार जिल्लाको खक्रौला भन्सार नजिकै रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटरमा भीड पसेर हातपात गरेको हो ।
सो क्रममा सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप पौडेलमाथि हातपात गरिएको छ । डीएसपी पौडेलले ज्यादती गरेको आरोप लगाउँदै गुल्ममै छिरेर त्यहाँका व्यापारी र सर्वसाधारणले हातपात गरेको जनाइएको छ ।
स्थानीयका अनुसार त्यहाँका व्यापारीले भारतबाट ल्याएको सामान सशस्त्र प्रहरीले बरामद गरेको थियो । सोहीबारे गुल्ममा टीकापुर उद्योग वाणिज्य संघको टोलीसमेतको सहभागीतामा छलफल भइरहेको थियो । छलफल सकिएपछि स्थानीय युवाहरु गुल्ममै छिरेर हातपातमा उत्रिएका हुन् ।

















