धनगढी । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले पार्टी अध्यक्ष केपी शर्मा ओली तथा नेपाली कांग्रेसका नेता रमेश लेखक लाई आज बिहान गरिएको गिरफ्तारीप्रति कडा आपत्ति जनाएको छ।
प्रदेश कमिटीद्वारा जारी विज्ञप्तिमा उक्त कदमलाई प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी भन्दै लोकतान्त्रिक मूल्य र विधिको शासनमाथि गम्भीर प्रहार भएको उल्लेख गरिएको छ। साथै, पक्राउ परेका दुवै नेताको तत्काल रिहाइको माग गरिएको छ।
एमालेले २०८२ भदौ २३ र २४ गतेका घटनाको छानबिनका लागि गठन गरिएको आयोगप्रति पनि असहमति जनाएको छ। आयोगको प्रतिवेदन पूर्वाग्रही र न्यायको सिद्धान्तविपरीत रहेको दाबी गर्दै निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरिएको छ।
पार्टीले कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने चेतावनी दिँदै देश, जनता र लोकतन्त्रको पक्षमा एकताबद्ध हुन सबै राजनीतिक दल, नागरिक समाज र आम जनतालाई आह्वान गरेको छ।
त्यस्तै, केन्द्रीय कमिटी सचिवालयको निर्णयअनुसार उक्त गिरफ्तारीको विरोधमा भोलि चैत १५ गते आइतबार देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई विरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको जनाएको छ। आवश्यकता अनुसार अन्य दलहरूसँग समन्वय गरी थप विरोधका कार्यक्रम सञ्चालन गरिने पनि उल्लेख गरिएको छ।
ओली र लेखकको गिरफ्तारीप्रति एमाले सुदूरपश्चिमको कडा विरोध, रिहाइको माग
ओली र लेखकको गिरफ्तारीप्रति एमाले सुदूरपश्चिमको कडा विरोध, रिहाइको माग
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













