धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको अधिवेशनमा सम्पन्न निर्वाचन प्रक्रिया तथा घोषित सम्पूर्ण परिणाम गरिएको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रक्रिया तथा त्यसबाट घोषित परिणाम बदर गरेको हो ।
केन्द्रीय निर्वाचन आयोगले जारी गरेको पत्रमार्फत कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रियाबारे प्राप्त उजुरी, गुनासा तथा प्रमाणहरूको अध्ययनपछि निर्वाचनमा लोकतान्त्रिक प्रक्रिया, विधि र कार्यविधिको पूर्ण पालना नभएको प्रारम्भीक निष्कर्ष निकालेको जनाएको छ।
निर्वाचनको न्यूनतम आधारभूत प्रक्रिया पालना नहुनु, मतदान र मतगणनासम्बन्धी स्थापित नियम तथा निर्वाचन कार्यविधिको उल्लंघन हुनु, विभिन्न पदका अधिकांश उम्मेदवारहरूले प्रक्रियाप्रति लिखित असहमति जनाउनु तथा स्थापित नामावली समितिका केही योग्य सदस्य र प्रतिनिधिहरूको सहभागिता सुनिश्चित नहुनु निर्वाचन बदर गर्नुका मुख्य आधारहरूमा रहेको आयोगले जनाएको छ।
केन्द्रीय निर्वाचन आयोगले जारी गरेको निर्णयमा निर्वाचनका क्रममा भएका ती गम्भीर त्रुटि तथा विधानविपरीतका गतिविधिका कारण निर्वाचनको निष्पक्षता र वैधतामाथि प्रश्न उठेको उल्लेख गरिएको छ।
आयोगले कैलाली जिल्लामा पुनः निष्पक्ष, पारदर्शी र विधिसम्मत निर्वाचन सम्पन्न गराउन आवश्यक तयारी गरिने जानकारी दिएको छ। यसका लागि नयाँ कार्यतालिका सार्वजनिक गरिने तथा केन्द्रीय प्रतिनिधि टोली खटाइने व्यवस्था समेत मिलाइने आयोगले उल्लेख गरेको छ।














