बझाङ । मस्टा गाउँपालिका–१ लाछीगाडमा निर्माण सम्पन्न भएको पक्की पुल सोमबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पुल निर्माण सम्पन्न भएसँगै स्थानीयवासीको आवतजावत तथा मालसामान ढुवानीमा सहज हुने भएको छ ।
पुलको उद्घाटन गर्दै मस्टा गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहराले लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको पुलको काम सम्पन्न भएसँगै स्थानीयलाई आवतजावतमा सहज हुने बताए ।
उनले पुल सञ्चालनमा आएपछि मस्टा गाउँपालिकामा उत्पादन हुने विभिन्न कृषि तथा स्थानीय वस्तुहरू बजारसम्म पुर्याउन र बजारबाट गाउँमा आवश्यक सामग्री ल्याउनसमेत सहज हुने बताए ।
पुल निर्माणका लागि स्थानीय सडक पुल कार्यक्रमको प्राविधिक सहयोग तथा सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास कार्यालयको आर्थिक सहयोग रहेको जनाइएको छ ।
करिब ४ करोड ४५ लाख रुपैयाँको लागतमा निर्माण भएको उक्त पुलले मस्टा गाउँपालिकाका स्थानीय बासिन्दाको दैनिक आवतजावतसँगै कृषि उत्पादनको बजारीकरण र आवश्यक सामग्रीको ढुवानीमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
लामो समयदेखि पुलको अभावमा आवतजावतमा समस्या भोग्दै आएका स्थानीयका लागि पुल सञ्चालनमा आउनु महत्वपूर्ण उपलब्धि भएको स्थानीयले बताएका छन् ।
पूल निर्माणपछि आवतजावत गर्न सजिलो हुने स्थानीय नरी थापाले बताए ।
२०७६ सालदेखि निर्माण सुरु भएको सो पुल पुष्पाञ्जली र आरबी जेभीले निर्माण गरेको प्राविधिक अधिकृत हरिशंकर जोशीले बताए ।
















