धनगढी । नेपाली कांग्रेसको १५ औं महाधिवेशनलाई लक्षित गर्दै कैलाली क्षेत्र नं. ४ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुल्ला पुरुष तर्फ) पदमा भोजबहादुर बमले उम्मेदवारी घोषणा गरेका छन् ।
लामो समयदेखि कांग्रेसको संगठन निर्माणमा क्रियाशील बम पार्टीभित्र अनुभवी र समाजसेवी नेताको रूपमा परिचित छन् ।
उनले नेपाल विद्यार्थी संघ कैलाली जिल्ला सदस्यबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए । त्यसपछि नेपाल तरुण दल जिल्ला सदस्य, नेपाली कांग्रेस क्षेत्रीय सदस्य,जिल्ला पार्टी सदस्य र महाधिवेशन प्रतिनिधि हुँदै पार्टीका विभिन्न जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।
राजनीतिसँगै उनी सामाजिक र सहकारी अभियानमा समेत सक्रिय छन् । उनले राष्ट्रिय सहकारी महासंघमा ३ कार्यकाल सफल नेतृत्व गर्दै सहकारी क्षेत्रको विकासमा योगदान पुर्याएका छन् ।
हाल नेपाली कांग्रेस पार्टीबाट निर्वाचित गौरीगंगा नगरपालिकाका उपप्रमुखको जिम्मेवारीमा रहेका बमले विभिन्न सामाजिक क्षेत्रमा आबद्ध भई समाजसेवाको काम गर्दै आएका छन् ।
उम्मेदवारी घोषणा गर्दै बमले भने, “विद्यार्थी कालदेखि आजसम्म पार्टीले दिएको हरेक जिम्मेवारी इमानदारीपूर्वक पूरा गरेको छु । अब १५औं महाधिवेशनमार्फत कैलाली-४ को आवाज केन्द्रमा पुर्याउन र सभापति गगन थापाको नेतृत्वमा समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सार्थक बनाउन मेरो उम्मेदवारी हो । यहाँहरुको अमूल्य सहयोगको अपेक्षा गरेको छु ।”
















