धनगढी । धनगढी उपमहानगरपालिका-१ स्थित जेन्जी मार्ग (पार्क अगाडि) मा राखिएको डिजिटल बोर्ड दैनिक तीन घण्टा सञ्चालनमा आउने भएको छ ।
उपमहानगरपालिकाद्वारा जडान गरिएको उक्त बोर्ड प्रत्येक दिन साँझ ६ बजेदेखि राती ९ बजेसम्म सञ्चालन गरिनेछ ।
डिजिटल बोर्डमार्फत समग्र सुदूरपश्चिम प्रदेशको पहिचान, धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा आर्थिक क्षेत्रको प्रचार-प्रसार र प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले प्राकृतिक तथा धार्मिक सम्पदाको समुचित उपयोगबाट मात्र प्रदेशलाई समृद्ध बनाउन सकिने बताए । उनले यसका लागि सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिँदै बोर्डमा सुदूरपश्चिमका सम्भावनाहरू प्रस्तुत गरिने जानकारी दिए।
साथै, नगर प्रमुख हमालले प्रदेशका सबै ८८ वटै स्थानीय तहलाई आफ्ना असल अभ्यास र उपलब्धिका विवरणहरू उपलब्ध गराउन आग्रह गरेका छन् ।
उक्त डिजिटल बोर्डमा सुदूरपश्चिमका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरूका साथै धनगढी उपमहानगरपालिकाका रचनात्मक कार्यक्रमहरू, ट्राफिक सम्बन्धी जानकारी र जनचेतनामूलक सामग्रीहरू प्रदर्शन गरिनेछ। समृद्ध, सुन्दर र आधुनिक धनगढी निर्माण गर्ने लक्ष्यअनुरूप उपमहानगरले डिजिटल प्रविधिलाई प्राथमिकता दिँदै आएको जनाएको छ ।

















