धनगढी । कैलालीमा भन्सार छली गरी ल्याइएका सामानसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका–७ मनेहरा गाउँबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याउँदै गरेको रु ८९ हजार ९५० भाँडावर्तन, किरानाका सामान र तीन थान साइकलसहित भारतको लखिमपुर खिरी ग्राम पञ्चायत बिनौरा बस्ने २२ वर्षीय वसी साहा, २४ वर्षीय नसिम साहा र २० वर्षीय सुहेल खाँनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
अस्थायी प्रहरी पोष्ट मनेहराबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो उनीहरूलाई फेला पारेको थियो ।
यसैगरी, कैलालीका विभिन्न स्थानबाट भन्सार छली गरी भारतबाट ल्याइएका रु एक लाख २८ हजार ३० बराबरका साडी, सुटपिस तथा किरानालगायतका सामान पनि प्रहरीले बरामद गरेको छ।

















