कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा किशोरमाथि खुकुरी देखाएर धाकधम्की दिँदै कुटपिट गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी नाम सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेलौरी नगरपालिका-१, रतनपुरका एक किशोरमाथि धारिलो हतियार खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गरिएको घटनामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा रतनपुरका २१ वर्षीय आशिष बिष्ट, १९ वर्षीय दिलीप भट्ट, २१ वर्षीय शंकर सुनार, २३ वर्षीय सुजित अधिकारी र २२ वर्षीय मिलन तिरुवा रहेका छन् ।
प्रहरीका अनुसार घटनाबारे इलाका प्रहरी कार्यालय बेलडाँडीमा जानकारी प्राप्त भएपछि अनुसन्धान अघि बढाइएको थियो ।
सोही क्रममा घटनामा संलग्न रहेको आरोप लागेका पाँचै जनालाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
यस घटनामा अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग एवं अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

















