धनगढी । कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका सामान प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलालीका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका अन्दाजी ६९ हजार ६ सय रुपैयाँ बराबरका चिनी, बिडी, सुर्ती, प्लास्टिक झिल्ली लगायतका सामान मंगलबार प्रहरीले बरामद गरेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलाली मातहतका कार्यालयबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उक्त सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ ।
त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भुजेलाबाट भन्सार छली गरी भारतबाट ल्याइएका अन्दाजी १ लाख ५० हजार रुपैयाँ बराबरका कुखुराका चल्ला पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलबार राति इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले ती चल्ला बेवारिसे अवस्थामा फेला पारेको हो । प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी चल्लाहरू नियन्त्रणमा लिएको जनाएको छ ।



















