धनगढी । नेपाल प्रज्ञा–प्रतिष्ठानले सुदूरपश्चिम प्रदेशको साहित्य, कला, संस्कृति, भाषा, सभ्यता तथा सामाजिक विविधतालाई विमर्शको केन्द्रमा ल्याउने उद्देश्यले धनगढीमा दुईदिने ‘सुदूरपश्चिम साहित्य महोत्सव–२०८३’ आयोजना गर्ने भएको छ।
प्रतिष्ठानका अनुसार आगामी मंसिर २६ र २७ गते महोत्सव आयोजना हुनेछ। महोत्सवमा सुदूरपश्चिमको सांस्कृतिक तथा सामाजिक पहिचानसँग जोडिएका विविध विषयमा अन्तरसंवाद र विमर्श गरिनेछ।
महोत्सवमा साहित्य र सिर्जना, पर्यापर्यटन, शिक्षा, सेती–महाकालीका कथायात्रा, सुदूरपश्चिमको भूगोल, इतिहास, समाज तथा संस्कृतिसँग सम्बन्धित विषयमा छलफल गरिने आयोजकले जनाएको छ।
महोत्सवमा डेढ दर्जनभन्दा बढी सत्र सञ्चालन हुनेछन्। सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका कवि तथा गजलकारको सहभागितामा कविता र गजल वाचन कार्यक्रमसमेत आयोजना गरिनेछ। यसका साथै हुड्केली, छलिया, होरी, देउडा तथा सखिया नाचलगायत मौलिक सांस्कृतिक प्रस्तुतिहरू रहनेछन्।
साहित्य लेखन कार्यशाला, पुस्तक विमोचन, साहित्य, इतिहास र संस्कृतिसम्बन्धी कार्यक्रम पनि महोत्सवमा समावेश गरिनेछन्। महोत्सवमा लेखक, साहित्यकार, बुद्धिजीवी, संस्कृतिकर्मी, शिक्षाविद्, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहनेछ ।
कैलाली बहुमुखी क्याम्पसको सहकार्यमा क्याम्पस परिसरमा महोत्सव आयोजना गरिनेछ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ तथा केन्द्रीय संयोजक एवं सुदूरपश्चिम साहित्य महोत्सवका संयोजक दीपक सापकोटाका अनुसार महोत्सवले सुदूरपश्चिमको सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्नुका साथै प्रदेशको पहिचान र सम्भावनालाई राष्ट्रियस्तरमा परिचित गराउन योगदान पुर्याउने विश्वास लिइएको वताए।



























