धनगढी । धनगढी उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको ग्रासरुट फुटबल विकास कार्यक्रमको तेस्रो संस्करण शनिबारदेखि सुरु भएको छ । यस वर्ष कार्यक्रममार्फत करिब पाँच हजार बालबालिका तथा किशोर–किशोरीलाई फुटबल प्रशिक्षण दिने लक्ष्य राखिएको छ ।
धनगढी रंगशालामा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले कार्यक्रमको उद्घाटन गरे । उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले ग्रासरुट फुटबल कार्यक्रमले स्थानीयस्तरबाटै प्रतिभावान खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
उनले लियोनल मेस्सी र किलियन एम्बाप्पेजस्ता अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने सपना स्थानीय तहबाटै देख्नु र त्यसका लागि प्रयास थाल्नु सकारात्मक भएको बताए । खेल क्षेत्रको विकासका लागि सबै तहका सरकारले यस्ता कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले यस वर्ष करिब पाँच हजार बालबालिका तथा किशोर–किशोरीलाई फुटबल प्रशिक्षण दिने लक्ष्य रहेको बताए । धनगढीमा फुटबल र क्रिकेटप्रति युवापुस्ताको आकर्षण बढ्दै गएकाले त्यसलाई व्यवस्थित गर्दै नयाँ प्रतिभा पहिचान र विकास गर्न कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
‘फुटबल र क्रिकेटको क्रेज निकै बढेको छ । यही कुरालाई मध्यनजर गर्दै पहिले ग्रासरुट क्रिकेट र त्यसपछि फुटबल कार्यक्रम सञ्चालन गरेका हौँ,’ उनले भने, ‘यो फुटबलको विकाससँगै बालबालिकालाई लागुऔषध दुर्व्यसनबाट टाढा राख्ने एउटा माध्यम पनि हो ।’
उपप्रमुख कन्दकला कुमारी रानाले उपमहानगरपालिकाले शिक्षा र स्वास्थ्यसँगै खेलकुदलाई पनि प्राथमिकतामा राखेको बताइन् । स्थानीयस्तरमा नयाँ खेल प्रतिभाको खोजी र विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको उनको भनाइ थियो ।
धनगढी उपमहानगरपालिकाले कैलाली जिल्ला फुटबल संघसँगको सहकार्यमा विगत दुई वर्षदेखि ग्रासरुट फुटबल विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस वर्ष धनगढी रंगशालासहित १६ स्थानमा प्रशिक्षण सञ्चालन भइरहेको उपमहानगरपालिकाले जनाएको छ । विभिन्न वडामा खेलमैदानको व्यवस्थापन गरी बालबालिका तथा किशोर–किशोरीलाई नियमित प्रशिक्षणको अवसर उपलब्ध गराइएको छ ।
ग्रासरुट कार्यक्रमले बालबालिकालाई सानै उमेरदेखि फुटबलप्रति आकर्षित गर्नुका साथै अनुशासन, सामूहिक भावना र स्वस्थ जीवनशैली विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । खेलकुदमा उनीहरूको सहभागिता बढाएर लागुऔषध दुर्व्यसन तथा अन्य सामाजिक विकृतिबाट टाढा राख्नसमेत कार्यक्रमले मद्दत गर्ने उपमहानगरपालिकाको विश्वास छ ।
प्रशिक्षणमा सहभागी बालबालिकामध्ये कतिपयको सपना राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका फुटबल खेलाडी बन्ने छ । उनीहरूका लागि ग्रासरुट कार्यक्रम फुटबल सिक्ने अवसरसँगै आफ्नो सपना पूरा गर्ने यात्राको सुरुवात बनेको छ ।



























