धनगढी – नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट चयन भएका छन् । आज बसेको संसदीय दलको बैठकले भट्टलाई दलको नेतामा सर्वसम्मत निर्वाचित गरेको हो ।
यसअघि प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्यसमेत रहेका भट्ट र वैकल्पिक केन्द्रीय सदस्य ओमविक्रम भाटले दलको नेतामा दाबी गरेका थिए । शनिबार प्रदेश कमिटी तथा केन्द्रीय सदस्यहरूको बैठकले सर्वसम्मत रूपमा दलको नेता छनोट गर्ने भनेको थियो ।
तर, हिजो सहमति जुट्न नसकेपछि आज बसेको बैठकले दलको नेतामा भट्टलाई चयन गरेको हो । दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने आजको बैठकले चयन गरेको छैन ।
प्रदेश सभामा अहिले सम्म नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र एमालले दलको नेता चयन गरिसकेको छ । नेकपा एमाले दलको नेता राजेन्द्र रावल, नेकपा एसको दलको नेतामा दीर्घ सोडारी र नागरिक उन्मुक्तिको नेतामा रामेश्वर चौधरी छनोट भइसकेका छन् ।













