धनगढी– भारतको मेरट भन्ने स्थानमा कोइलाको धुवाबाट निस्सासिएर मृत्यु भएका गौरीगंगा नगरपालिका-१ गोप्काका चन्ने भुलको परिवारलाई राहत स्वरुप खाद्यान्न सहयोग गरिएको छ ।
काङ्ग्रेस कैलालीका जिल्ला सदस्य तथा प्रसार प्रसार विभाग प्रमुख तपेन्द्र भुसाल र गौरीगंगा नगरपालिका-१ का वडा अध्यक्ष डबलबहादुर दियाकोटीले राहत स्वरुप खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् ।
मृतकका परिवारलाई व्यक्तिगत रुपमा दुई कट्टा चामल, दाल, नुन, तेल,गेडागुडी, साबुनलगायतका सामान हस्तान्तरण गरिएको भुसालले बताए । मृतकको घरमै पुगेर राहत सामग्री दिइएको उनले बताए ।
त्यस अवसरमा गौरीगंगा नगरपालिकाका उपप्रमुख भोजबहादुर बम, पार्टीका प्रदेश अधिवेशन प्रतिनिधि एबं नेबिसंघ कैलालीका अध्यक्ष भेष बम, पार्टीका गौरीगंगा नगर सचिब हेमन्तराज जोशी (बाजे), नेपाल दलित विद्यार्थी संघ कैलालीका अध्यक्ष कृष्णबहादुर भुललगायत गौरीगंगा नगरपालिकाका कार्यपालिका सदस्य, वडा नं.-१ का जनप्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो ।
भारतमा भएको उक्त घटनामा चन्नेसंगै उनकी श्रीमती कुमारी र दुई वर्षीया छोरी गरि परिवारका तीन जनाको मृत्यु भएको थियो। उनीहरूको मङ्गलबार अन्तिम संस्कार गरिएको थियो ।
मृतका हाल १ छोरा र २ छोरी गरि ३ जना नाबालक छोराछोरी रहेका छन्। उनीहरुलाई मृतकका बृद्ध बुवाआमाले संरक्षण दिइरहनु भएको छ ।













