धनगढी- धनगढी उपमहानगरपालिका नेतृत्वको बजार अनुगमन टोलीले केही दिनदेखि धनगढीमा बजार अनुगमन गरिरहेको छ । उपमहानगरपालिकाका उपभोक्ता हित संरक्षण शाखा प्रमुख नारायणप्रसाद शर्मा नेतृत्वको टोलीले विहीबार पनि धनगढीका विभिन्न पसलमा अनुगमन गरेको छ ।
अनुगमनका क्रममा एक किराना पसललाई न्युनतम जरिवाना गर्नुका साथै केही पसल तथा डेरीलाई पहिलोपटक सम्झाई बुझाई गरेको छ । अनुगमन टोलीले धनगढीको चौराहास्थित दिपक एण्ड पुनिता सप्लायर्सलाई लेबल नभएका र म्याद गुज्र्रिएका सामान राखेको भन्दै एक हजार रुपैयाँ जरिवाना गराएको छ । उक्त पसलबाट लेबल र मूल्य नभएका गुड, मिस्री, तयारी मिठाई, जिरा जफत पनि गरिएको छ । त्यस्तै नविकरण नभएको काटा पनि नियन्त्रणमा लिइएको छ ।
यसैगरि हाम्रो आँचल डेरी एण्ड ब्रेकरी र प्रतिज्ञा डेरीलाई सरसफाईमा विशेष ध्यान दिन सुझाव दिइएको छ । त्यसक्रममा प्रतिज्ञा डेरीमा केही परिमाणमा लेबल र मूल्य नराखिएका डुनट र पाउरोटी समेत फेला परेका थिए ।
टोलीले धनगढीको इमेज होटलमा पनि अनुमन गर्दै होटललाई सरसफाईमा ध्यान दिन र पार्किङलाई व्यवस्थित गर्न निर्देशन दिएको छ । यस्तै टोलीले अन्य केही फेन्सी पसल र किनारा पसलमा पनि अनुगमन गरेको छ । त्यसक्रममा पसल सञ्चालकहरुलाई सामानको मूल्यसूची र बिल दुरुस्त राख्न सुझाएको छ ।
अनुमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, बाणिज्य कार्यालय, नापतौल कार्यालयका प्रतिनिधि, प्रहरीलगायत थिए । उपमहानगरपालिकाका उपभोक्ता हित संरक्षण शाखा प्रमुख शर्माले बजार अनुगमन निरन्तर जारी रहेने बताए ।













