बारा- नेकपा एमाले प्रवेश गरेको भनिएका बाराबाट निर्वाचित स्वतन्त्र प्रदेश सासंद सारदा शंकर कलवार जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् । बारा निर्वाचन क्षेत्र नंं. २(क) बाट जितेका कलवारलाई आइतबार मधेस प्रदेशका अर्थमन्त्री संजय कुमार यादव र विराटनगर महानगरका नगर अध्यक्ष अमरेन्द्र यादवले पार्टी प्रवेश गराएका हुन् ।
एमाले र जसपाबीचको तालेमल हुँदा उक्त क्षेत्र एमालेको भागमा परेपछि कलवारले असन्तुष्ट हुँदै स्वतन्त्र उम्मेदवारी दिएका थिए । यता पुष २७ गते उनी बालकोट गएर नेकपा एमालेमा प्रवेश गरेको समाचार पनि आएको थियो । तर, त्योबेला आफु एमालेमा प्रवेश नगरेको सांसद कलवार बताए । सांसद कलवारले पार्टी शीर्ष नेताहरुबाट रुष्ट भएर बालकोट पनि पुगेको स्वीकारे पनि एमालेमा प्रवेश नगरेको स्पष्ट पारे ।
उनले जसपा आफ्नो पुरानो घर भएको हुनाले पुनः जसपामै फर्किएको बताएका छन् । यसअघि महोत्तरी २ (२) बाट चुनाव जितेका स्वतन्त्र सांसद सुरिता साह र पर्सा क्षेत्र नम्बर ३(१) का प्रमोद कुमार जैसवालले जसपामा प्रवेश गरेका थिए । प्रदेशमा मन्त्री परिषद् विस्तार हुँदा सासंद साह सामाजिक विकास मन्त्री नियुक्त भएका छन् । यो सँगै जसपाको मधेश प्रदेशमा १९ सांसद पुगेको छ ।













