धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका छन् । उनले आफूलाई विश्वासको मत दिन प्रदेशसभामा गरेको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि मुख्यमन्त्री रावल पदमुक्त भएका हुन् ।
मुख्यमन्त्रीले राखेको छलफलको प्रस्ताव नै बहुमतले अस्वीकृत भएपछि मतदानसम्म पनि पुग्न सकेन । मुख्यमन्त्रीले लामो सम्बोधन गरेर आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।
तर निर्णायक मानिएको नागरिक उन्मुक्तिका सबै ७ सांसद प्रदेशसभा बैठकमा अनुपस्थित भएपछि मुख्यमन्त्रीले विश्वासको मत पाउन नसकेका हुन् ।
२७ पुसमा नाउपासमेतको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका रावलले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो ।
मुख्यमन्त्री रावल पदमुक्त भएपछि अब प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सरकारको नेतृत्व लिँदैछ । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी भइरहेको छ ।















