धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले बहुमत गुमाएपछि नेपाली कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाह मुख्यमन्त्री बन्ने भएका छन् । बिहिबार बसेको बैठकमा सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टी अनुपस्थित भएपछि रावलले विश्वासको मत पाउन नसकेका हुन । उनले आफूलाई विश्वासको मत दिन प्रदेशसभामा गरेको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि मुख्यमन्त्री रावल पदमुक्त भएका हुन् ।
निर्णायक मानिएको नागरिक उन्मुक्तिका सबै ७ सांसद प्रदेशसभा बैठकमा अनुपस्थित भएपछि मुख्यमन्त्रीले विश्वासको मत पाउन नसकेका हुन् ।
२७ पुसमा नाउपासमेतको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका रावलले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो ।
मुख्यमन्त्री रावलले विश्वासको मत नपाए संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलका हिसाबले कांग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री बन्न लागेका हुन । यहाँ कांग्रेसका १९ सदस्य छन् । यो संग रावलले आजै राजिनामा बुझाएका छन् ।















