वीरगन्ज – नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अबको राष्ट्रपति एमालेको उम्मेदवार नै बन्ने दाबी गरेका छन्। आइतबार वीरगन्जमा आयोजित प्रेस चौतारी नेपालको संगठन सुदृढीकरण कार्यशालामा गुरुङले पुस १० मा सत्तागठबन्धन दलबीच भएको सहमतिअनुसार राष्ट्रपति एमालेकै बन्ने दाबी गरेका हुन्।
राष्ट्रपतिको निर्वाचनपछि सत्तागठबन्धन टुट्ने हल्ला हौवा मात्रै भएको उनले बताए। माओवादी केन्द्रको हालैको बैठकले पनि एमालेसहितको राष्ट्रिय सहमति खोज्ने निर्णय गरेकाले सत्तागठबन्धनबाट एमालेले अगाडि सार्ने उम्मेदवार नै राष्ट्रपति बन्ने जिकिर उनले गरे।
उनले दल बाहिरको व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा एमालेलाई स्वीकार्य नहुने पनि प्रष्ट पारे। एमालेले अहिलेको सत्ता गठबन्धनलाई टिकाएर मुलुकमा राजनीतिक स्थायित्व, विकास र समृद्धिको बाटोमा अगाडि बढाउने पनि उनले बताए।
गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन सरकारमा फर्काउने, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सामेल गराउने तयारी भइरहेको बताए। गुरुङले सुदूरपश्चिम प्रदेशमा फेरि एमालेकै सरकार बन्ने परिस्थिति बन्दै गएको बताए ।













