काठमाडौं – प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मतपछि राजनीतिक परस्थिति फेरिएको बताएका छन् । राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिमा जोड दिइरहेका उनले विश्वासको मत दिने पार्टीहरूको भावनालाई सम्बोधन गरेर अघि बढ्ने बताए ।
आइतबार दिउँसो पार्टी केन्द्रीय सदस्य सम्मिलित वागमती प्रदेशस्तरीय समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको औचित्यबारे प्रष्टयाए । उनले २ महिनाछि पार्टीमा व्यापक रूपान्तरण हुने पनि दाबी गरे ।
प्रचण्डले भने, ‘पार्टीको स्थायी समिति बैठकले २ महिना संगठनात्मक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । अब पार्टीका सबै नेता, कार्यकर्ता जनतामा जानुछ । २ महिना पार्टीका तल्ला कमिटीमा जान्छौं, कार्यकर्ता र जनतासँग अन्तर्क्रिया गर्छौं ।’
अभियानले पार्टीको अवस्था र कार्यकर्ता, जनताको आकांक्षा पहिचान गरेर केन्द्रीय समितिको पूर्ण बैठकले व्यापक रुपान्तरण गर्ने उनको दाबी छ ।













