काठमाडौँ – चितवन क्षेत्र नम्बर २ को प्रतिनिधिसभाको उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजैबाट काम सुरु गरेको छ। हाल रिक्त हुन पुगेको चितवन–२ को उपनिर्वाचन लागि आयोगले मतदाता नामावली अद्यावधिक गरेर आजदेखि नै काम सुरु गरेको हो।
आयोगले सार्वजनिक गरेका तालिकाअनुसार फागुन १ देखी चैत १६ गतेसम्म मतदाता नामावलीमा अद्यावधिक गर्नेछ भने २० चैतमा उम्मेदवारको मनोनयन दर्ता गरिनेछ।
त्यसको भोलिपल्ट अर्थात् २१ चैतमा उम्मेदवारको मनोनयन माथि विरोधमा उजुरी लिने तथा सो मनोनयन पत्र र उजुरीउपर छानबिन गरी सोही दिन निर्णय दिने आयोगले जनाएको छ। निर्वाचन आयोगका अनुसार २२ चैतमा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ।
गत साता सर्वोच्च अदालतको सबैंधानिक इजलासले सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्ति नगरी निर्वाचित भएको भन्दै उनको सांसद पद खारेज गरे पछि उक्त क्षेत्र रिक्त भएको थियो। सो रिक्त स्थानमा आयोगले आइतबार १० वैशाखमा उपनिर्वाचन गर्ने निर्णय गरेको थियो।













