काठमाडौं – नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग भेट गरेकी छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सोमबार भएको भेट दुईको पारस्परिक सम्बन्ध, संसदीय अनुभव आदानप्रदानलगायतमा केन्द्रित थियो ।
सभामुखमा निर्वाचित भएपछि घिमिरेले भारतीय र चिनियाँ राजदूतसँग भेट गरिसकेका छन् । बेलायती राजदूत पोलिटसँगको भेटमा सभामुख घिमिरेले दुई देशबीच सरकार–सरकार मात्र नभई जनता–जनतामा पनि सम्बन्ध विकास भएको उल्लेख गरे ।
बेलायत संसदीय व्यवस्थाको जननी भएको बताउँदै सभामुख घिमिरेले आगामी दिनमा संसदीय आदानप्रदानलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताए ।
जवाफमा बेलायती राजदूत पोलिटले नेपाल र बेलायतीबीच दौत्य सम्बन्ध कायम भएको एक सय वर्ष पुगेको अवसरमा नेपालमा उच्चस्तरीय भ्रमणको तयारी भइरहेको समेत जानकारी दिइन् ।













