धनगढी – कैलाली कारागारमा थुनामा रहेका प्रतिनिधिसभा सदस्य अरुण चौधरीको रिटमा उच्च अदालतले अन्तरिम आदेश जारी गरेन । बुधबार भएको सुनुवाईपछि अन्तरिम आदेश जारी गर्नुनपर्ने आदेश जारी गरिएको हो । बुधबार उच्च अदालत दिपायलका न्यायाधीशद्वय देशबहादुर सार्की र गणेश ठाकुरको इजलासमा भएको बहसपछि सो आदेश जारी भएको हो ।
कैलाली बार एसोसियसनको कक्षमा राखिएको श्रव्य दृष्य संवाद कक्षबाट चौधरीले बयान दिएका थिए । माघ २९ गते उच्च अदालतले थुनामा रहेका चौधरीलाई कैलाली जिल्ला अदालतमा रहेको श्रव्य दृश्य संवाद कक्षमा उपस्थित गराउन आदेश दिएको थियो । उच्च अदालतले सरकारी वकिलको कार्यालय कैलालीलाई लिखित जवाफ पेस गर्न र चौधरीलाई बयान दिन बुधबार उपस्थित गराउन आदेश दिएको थियो ।
ट्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जना विरुद्ध जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।
बुधबार बयानपछि अदालतमा संचारकर्मीसँग बोल्दै नागरिक उन्मुक्तिका सांसद चौधरीले न्याय पाउनेमा आशावादी रहेको प्रतिक्रिया दिएका थिए । ‘मैले न्याय पाउनुपर्छ । मैले त्यो फैसलाबारे जानकारी नै पाएको थिएन । हजुरहरूकै मिडियामार्फत मलाई मुद्दा छ भन्ने थाहा भयो’ अरूणले भने, ‘म कैलाली आउँदै थिए । मलाई अपहरणको शैलीमा बाटोमा समातियो ।’ ६ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई प्रहरीले माघ १९ गते बाँकेबाट पक्राउ गरेको थियो ।















