काठमाडौँ – गण्डकी प्रदेशभर भोलि बिहीवार फागुन ४ गते सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले सरकार स्थापना दिवसका अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिएको हो ।
प्रदेश राजपत्रमा विक्रम संवत् २०७९ सालमा सार्वजनिक बिदामा स्थापना दिवसको दिन समेत समावेश गरिएको हो ।
गत वर्ष चैत २३ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने निर्णय गरेको थियो । प्रदेश स्थापना दिवसबाहेक प्रदेश सरकारले भानु जयन्ती, कोजाग्रत पूर्णिमा र चैतेदशैंमा बिदा दिँदै आएको छ । गण्डकी प्रदेश सरकारले स्थापना दिवसका अवसरमा बिहीवार विभिन्न कार्यक्रम गर्दैछ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीका अनुसार वार्षिकोत्सवलाई भव्य बनाउने गरी तयारी गरिएको छ । उनका अनुसार बिहान ७ः३० बजे शहीदचोकस्थित शहीद स्तम्भमा माल्र्यापणको कार्यक्रम छ । त्यसपछि शहीदचोकदेखि पोखरा सभागृहसम्म प्रभातफेरीको आयोजना गरिएको छ । पोखरा सभागृहमा वार्षिकोत्सवको मूल समारोह आयोजना गरिएको छ ।













