धनगढी – आज ७३औं राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा धनगढीमा प्रदेश सरकारले विशेष कार्यक्रम आयोजना गरी मनाउदैँ छ । प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । सुदूरपश्चिम प्रदेश मुल समारोह समितिको आयोजनामा विभिन्न कार्यक्रम गरि धनगढीमा दिवस मनाईएको हो ।
दिवसको अवसरमा धनगढी ट्राफिक चौकदेखि आन्तरिक मामिला तथा कानुन मन्त्रालयसम्म प्रभातफेरी गरिएको छ । प्रभातफेरीमा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवा, आर्थिक मामिला मन्त्री नरेशबहादुर शाह, सभामुख भीम बहादुर भण्डारी, निवर्तमान मुख्यमन्त्री राजेन्द्र रावल, प्रदेश सभा सदस्य, प्रदेश प्रमुख सचिव, प्रदेशका विभिन्न मन्त्रालयका सचिव, निजामति कर्मचारी, सुरक्षा निकाय प्रमुख, संघ(संस्थाका पदाधिकारी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
विक्रम संवत् २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहाँनीया राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा अन्य सङ्घ संस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।
सरकारले फागुन ६, ७ र ८ गते तीन दिनसम्म विशेषरूपमा दिवस मनाउन आह्वान गरेको छ । तीन दिनसम्म साँझ दीपावली पनि गरिनेछ । प्रजातन्त्र दिवसलाई २०४६, २०६३ र २०६५ का परिवर्तनको जगका रूपमा सम्झना गरी विभिन्न कार्यक्रम आयोजना गर्ने गरिएको छ ।















