धनगढी- कैलालीको चिसापानीबाट चितुवाको छालासहित दुई जना पक्राउ परेका छनु । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय चिसापानीबाट खट्टिएको संयुक्त प्रहरी टोलीले कुइनेदेखी चिसापानी तर्फ आउँदै गरेको से.५ प ८०३१ नं. को मोटरसाइकलमा सवार दुई जनालाई चितुवाको छालासहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोटरसाइकल चालक अछामको बिनायक नगरपालिका–६ तोलीका ३६ वर्षीय तुलबहादुर बिक र मोटरसाइकलको पछाडि सवार जुम्ला तातोपानी गाउँपालिका–४ राउतबाडाका ५० वर्षीय तुलबहादुर खत्री रहेका छन् ।
प्रहरीले उनीहरु दुई जनामध्ये पछाडि सवार खत्रीको साथबाट झोलामा लुकाइराखेको लम्बाई ७ फिट १० ईन्च र चौडाई ४ फिट ७ ईन्च भएको चितुवाको जस्तो देखिने छाला थान १ र बन्यजन्तुको जस्तो देखिने विभिन्न भागका हड्डी २ किलो ९५० ग्राम बरामद गरेको छ । मोटरसाइकलसहित पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















