धनगढी । कैलालीमा हाइसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि बन्द भएको राजमार्ग सुचारु भएको छ । आज बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–९ बल्मीमा बिहीबार बिहान बा ५ ख ४०३२ नम्बरको हाइसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको थियो ।
हाइसको ठक्करबाट गौरीगंगा नगरपालिका–६बस्ने ६० वर्षीय केहुवा चौधरीको घटनास्थलमै मृत्यु भएको हो । अहिले बन्द भएको राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए ।
चौधरीलाई ठक्कर दिने नेपालगन्जबाट अत्तरियातर्फ आउँदै गरेको उक्त हाइस र चालक बाँकेको कोहलपुरका २९ वर्षीय नवीन सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग केही बेर अवरुद्ध गरेका थिए ।













