डडेल्धुरा- डडेल्धुरामा चितुवाको हड्डीसहित दुई युवक पक्राउ परेका छन् । प्रहरीले जिल्लाको अमरगढी नगरपालिका–५ बागबजारबाट शनिबार राति ४ किलो चितुवाको हड्डीसहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा बाजुरा बुढीगंगा नगरपालिका–१० बस्ने २६ वर्षीय राजेन्द्र जैसी र खप्तडछेडेदह गाउँपालिका–७ बस्ने २७ वर्षीय बीरबहादुर वली रहेका छन् ।
सुदूरपश्चिम प्रदेश अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चितुवाको हड्डी सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको छ । उनीहरूको झोलाबाट टाउको जस्तो देखिने अस्थिपञ्जर, चारवटा दाँतहरू देखिएको हड्डी एक थान, तल्लो बाङग्राको जस्तो देखिने हड्डी दुई थान, मेरुदण्डको जस्तो देखिने हड्डी २९ थान, करङको जस्तो हड्डी २२ थान, फीलपातको जस्तो देखिने हड्डी ५ थान, नली हड्डी जस्तो देखिने हड्डी १० थान, विभिन्न प्रकारका स–साना हड्डी २७ गरी जम्मा ९६ थान हड्डी बरामद गरिएको छ ।
बरामद हड्डी र पक्राउ परेकाहरुका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जानकारी दिएको छ ।















