काठमाडौं- सरकारबाट एमालेको बहिर्गमन खोजिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको तय भइसकेको विदेश भ्रमण रोकिदिएका छन् । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको वैठकमा भाग लिन मन्त्री पौड्याल आज जेनेभा जाने कार्यक्रम थियो ।
मन्त्री पौड्याल सोही बैठकमा भाग लिएर कतारको दोहामा हुने अतिकम विकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको थियो ।पररराष्ट्रमन्त्रीको भ्रमण मन्त्रिपरिषदले स्वीकृत गरिसकेको थियो भने उनले पनि सबै तयारी गरिसकेकी थिइन् ।
तर, आज प्रधानमन्त्रीले पौडेललाई जेनेभा नजान मौखिक निर्देशन दिएको स्रोतले बतायो । प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री रोकिएकी छन् ।
हिजोमात्र परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरेर यस भ्रमणबारे जानकारी गराएको थियो । मन्त्री पौड्यालले परिषदको बैठकमा नेपालले मानव अधिकारको क्षेत्रमा हासिल गरेका उपलब्धिहरुका बारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको बताएकी थिइन् । नेपाल राष्ट्रसंघीय मानव अधिकार परिषदको सदस्य राष्ट्र हो ।















