काठमाडौँ – प्रदेश १ का तीन ठूला दल नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेस प्रदेश १ को नाम कोशी प्रदेश राख्न एक मत देखिएका छन्।
एमाले, कांग्रेस र माओवादी केन्द्रले आ–आफ्नो दलको बैठक राखेर प्रदेश १ को नाम कोशी प्रदेशमा भोट हाल्ने निर्णय गरेका हुन्।
यो सँगै प्रदेशको नाम कोशी प्रदेश राख्नेमा तीन दल एक ठाउँमा भएका हुन्।
यो सँगै प्रदेशको नाम कोशी रहने सम्भावना बढेको छ। यसअघि प्रदेशसभा सचिवसमक्ष एमाले र कांग्रेसले संयुक्त रुपमा कोशी प्रस्ताव दर्ता गराएका थिए। प्रदेश १ मा एमालेको नेतृत्वमा माओवादी केन्द्र पनि सामेल छ भने कांग्रेस प्रमुख प्रतिपक्ष रहेको छ।
कोशी नामका लागि एमालेका रामकुमार राना प्रस्तावक छन्। उक्त प्रस्तावको एमालेकै निरन राई र कांग्रेसका सांसद भूमि राजवंशीले समर्थन गरेका छन्।
प्रदेशको नामाकरणको टुंगो लगाउन प्रदेशसभाको दुई तिहाई मत आवश्यक पर्ने संवैधानिक व्यवस्था छ। प्रदेश १ मा ९३ जना सदस्य छन्। नामकरणको टुंगो लगाउन ६३ जना सांसद चाहिन्छ। प्रदेश १ प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाको १ जना सांसद छन्। सत्तापक्ष र विपक्ष दलहरु नामका बारेमा एक मत देखिएपछि सहज रुपमा दुई तिहाई मत पुग्न सक्ने सम्भावना छ।















