धनगढी- धनगढीस्थित नवजीवन अस्पताल प्रालीले १७ औँ वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ। २०६२ साल फागुन १७ गते १५ शय्या अस्पतालको स्वीकृति लिई सञ्चालन भएको नवजीवन अस्पताल सुदूरपश्चिम प्रदेशको पहिलो निजी अस्पताल हो। १७ औँ वार्षिक उत्सवको अवसरमा बुधवार अस्पतालले बिरामीलाई फलफूल वितरण, रक्तदान कार्यक्रम, सबै बिरामीका लागी ओपिडी टिकट फ्रि तथा ल्याब परीक्षणमा १२ प्रतिशत छुट दिइएको अस्पतालले जनाएको छ।
सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कार्यक्रमको आयोजना गरिएको अस्पतालका सिइओ चक्र खडायतले जानकारी दिए । उनले सुदूरपश्चिममा धेरै अस्पताल रहेपनी नवजीवन अस्पतालले बिरामीका लागी न्यूनतम शुल्कमा फरक तथा गुणस्तरीय सुविधासहित चिकित्सकीय सेवा प्रदान गर्दै आइरहेको बताए । नवजीवन अस्पतालले १७ औँ वार्षिक उत्सवको अवसरमा एक कार्यक्रमका बिच बिरामीलाई फलफूल वितरण, ३० भन्दा बढी जनाले रक्तदान तथा रक्तदान गर्नेलाई कर्मचारी तथा अतिथिलाई प्रमाणपत्रसहित सम्मान गरिएको छ ।
अस्पतालले आफ्नै पहलमा र नेपाल सरकारसँगको सहकार्यमा ठुला तथा साना संख्यामा स्वास्थ्य शिविर, आमा सुरक्षा कार्यक्रम, खोप कार्यक्रम, क्षयरोगको निःशुल्क औषधी वितरण, स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्दै आएको अस्पतालका मेडिकल डाइरेक्टर डा.बिदुरमणी ढकालले जानकारी दिए।
साथै अस्पतालले केही दिनमै इमरजेन्सी फाँटबाट सिटी स्क्यान जडान गरेर सेवा प्रदान गरिने जानकारी दिए। नवजीवन अस्पताल २०६८ सालबाट स्वास्थ्य विभाग काठमाण्डौँबाट ५० शय्याको सञ्चालन स्वीकृति लिई सञ्चालनमा रहेकोमा यसै आर्थिक वर्षबाट १०० शैय्यामा स्तरोउन्नती गरिएको उनले बताए।
उनले कोभिड संक्रमण नियन्त्रणमा पनि श्रोत साधनले भ्याएसम्म भरपुर प्रयास गरेको र सो समयमा देखिएको अक्सिजन अभावलाई मध्यनजर राख्दै दीर्घकालीन रूपमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको जानकारी दिए। आगामी दिनमा नवजीवन अस्पताल बिरामीको विश्वास कायम राखी थप सशक्त रूपमा अघि बढ्ने विश्वास दिलाएका छन्।नवजीवन अस्पतालले अस्पतालजन्य सेवाकासाथै अन्य शैक्षिक कार्यक्रमहरू समेत सञ्चालन गरेको जनाएको छ ।
यसै वर्षबाट ४० जना विद्यार्थीलाई पिसिएल नर्सिङ गर्ने अनुमति प्राप्त गरेको अस्पतालले जनाएको छ । अस्पतालबाट वरिष्ठ हाड जोर्नी तथा नसा रोग विशेषज्ञ प्रत्येक दिन, प्रसूति तथा महिला रोग,बाल रोग, जनरल तथा ल्याप्रोस्कोपिक सर्जन,मानसिक तथा स्नायु,पेट छाती तथा मुटु रोग विशेषज्ञ प्रत्येक दिन सेवा प्रदान गर्दै आएको छ।
यस्तै वरिष्ठ एनेस्थेशियोलोजिष्ट एवं क्रिटिकल केयर सेवा,मुटु रोग विशेषज्ञ डी एम कार्डियोलोजी, वरिष्ठ छाला चर्म रोग, एलर्जी, यौन गुप्त रोग तथा सौन्दर्य विशेषज्ञ,नाक कान तथा घाँटी रोग, युरो सर्जन तथा मिनी पिसीएनएल तथा वरिष्ठ फिजीयोथेरापी प्रत्येक दिन सेवा प्रदान गरिरहेको छ ।
रेडियोलोजी सेवा, रङ्गिन भिडियो एक्स-रे सेवा लगायत आइसियु एन आइसियु डायलिसिस, स्वास्थ्य बिमा सेवा प्रत्येक दिन २४ सै घण्टा उपलब्ध रहेको जानकारी गराएको छ । वरिष्ठ नेफोलोजि, डायलिसिस विशेषज्ञ हरेक शुक्रवार र शनिवार प्रदान गरिरहेको छ।साथै इमरजेन्सी सेवा र औषधी सेवा २४ सै घण्टा उपलब्ध रहेको जानकारी दिएको छ। आर्थिक वर्ष २०७८ फागुन देखी २०७९ माघ महिनासम्म अस्पतालले इमरजेन्सीबाट ५ हजार ८ सय ९८ जनाले स्वास्थ्य सेवा पाएका छन् ।
यस्तै बहिरङ्गबाट २८ हजार ६ सय ५७ जना, ३ हजार ५६ जनाको शल्यक्रिया,प्याथोलोजी ल्याब परीक्षणमा ३६ हजार ५ सय ५३ जना, अन्तरङ्गमा भर्ना भएका १२ हजार ५ सय ५२ जना, बिरामी बसेको ३९ हजार ७ सय ३९ दिन, निःशुल्क सुत्केरी सेवा लिएका बिरामी संख्या १ हजार १ सय ६५ जना, निःशुल्क खोप सेवा लिएका बालबालिका १ हजार ८ सय ११ जना निःशुल्क हेल्थ सेवा तथा विभिन्न स्वास्थ्य शिविरबाट ५ हजार ४ सय ११ जना बिरामीले सेवा लिएको अस्पतालले जनाएको छ ।













