धनगढी- नेपाली काँग्रेसका संस्थापक नेता तथा पूर्व सभापति सुवर्ण सम्शेर जबराको ११२ औं जन्मजयन्तीका अवसरमा जिल्ला कार्यसमिति कैलालीले बुधबार एक कार्यक्रम गरी जन्मजयन्ती मनाएको छ ।
नेपाली काँग्रेस कैलालीका जिल्ला सभापति नारायणदत्त भट्टको अध्यक्षतमा भएको कार्यक्रममा काँग्रसका केन्द्रीय सदस्य जीवन रानाको प्रमुख अतिथी रहेकी थिइन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथी रानाले सुर्वण सम्शेरको प्रजातन्त्र प्राप्तीमा महत्वपूर्ण योगदान रहेको बताइन् । सुर्वण सम्शेर राणा परिवारमा जन्मे पनि प्रजातन्त्र प्राप्तीमा खुलेर लागेको भन्दै उनले गरेका कार्यको प्रशंसा गरिन् ।
कार्यक्रमका व्यक्ताहरुले विगतमा नभएका कार्यक्रमहरु अहिले भइरहेकाले यसले पार्टीमा हौसला बढाएको बताएका थिए । उनीहरुले यस्ता कार्यक्रमहरुलाई तल्लो तहसम्म गर्नु पर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा नेपाल शिक्षक संघ कैलालीका अध्यक्ष तेजबहादुर सिंह, नेपाल तरुणदल कैलालीका अध्यक्ष दिपेन्द्र बम, नेपाल विद्यार्थी संघका मनिष कुँवर, प्रेस युनियन कैलाली जिल्ला अध्यक्ष श्रवण देउवालगायले मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रदेश सदस्य रामबहादुर देउवा, पुष्पा जोशी, सुरत रावत, पूर्व राज्यमन्त्री टेकबहादुर रैका, जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरु, संघीय क्षेत्रीय कार्यसमिति पदाधिकारी तथा सदस्यहरु प्रदेश सभा क्षेत्र, नगर, वडा कार्य समिति लगायत भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी तथा कार्य समितिहरुको उपस्थित रहेको थियो ।
पार्टीका जिल्ला सचिव केशव मिश्रले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन प्रचार–प्रसार विभाग संयोजक तपेन्द्र भुषालले गरेका थिए । पार्टीले कांग्रेसका अर्का दिवंगत नेता नेता कृष्णप्रसाद भट्टराईको स्मृती दिवस यही फागुन २० गते क्षेत्र नं. ३ सुखडमा मनाउने तयारी गरेको छ ।













