कैलाली- कैलालीको अत्तरिया बजारका व्यवसायीहरुले गोदावरी नगरपालिका घेराउ गरेका छन्। अत्तरिया बजार क्षेत्रका व्यवसायीहरुले पसल अगाडी निर्माण गरेका टिनका पाली नगरपालिकाले हटाउन थालेको भन्दै नगरपालिका घेराउ गरेका हुन्। व्यवसायीहरुले विरोध गर्दै गोदावरी नगरपालिका घेराउ गरेका छन्।
शुक्रबार बिहान अत्तरिया चोकमा सडक क्षेत्रमा पर्ने पसलका पाली हटाउन नगरपालिकाले जेसीवी चलाउन सुरु गरेको थियो। व्यवसायीहरुले भने नगरपालिकाले अन्य क्षेत्रको अतिक्रम नहटाएर बिना कारण चोकमा रहेका व्यवसायीलाई दुःख दिन थालेको भन्दै अवरोध गरेका थिए।
व्यवसायी दुर्गा कडायतले पसल अगाडी पाली नबनाएर बर्षातको पानी पसल भित्र जाने गरेको बताइन्। उनले नगरपालिकाले खोला नालाको अतिक्रमण नहटाउने तर, व्यवसायीले पसल अगाडी निर्माण गरेका पाली मात्रै हटाउने कार्य गलत भएको बताईन्।
व्यवसायीहरुले तत्काल पाली नहटाइदिन माग गरेका छन्। यता नगरपालिकाले भने सडक अतिक्रमण हटाउने काम नरोकिने बताएको छ । नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले कार्यपालिकाबाट निर्णय गरेर सडक किनाराका अतिक्रमण हटाउने निणय भएको बताए ।
उनले ७ दिने सूचना जारी गरिएपनी अतिक्रमण हटाउन अटेर गरिएपछि नगरपालिकाले जेसीवी चलाउन बाध्य भएको बताए । यसअघि अतिक्रमण हटाइएका ठाउँमा पुनः अतिक्रमण हुन थालेको प्रवक्ता भट्टले बताएका छन्।















